ONE NRNA ONE PROJECT 2015-17 (एक कार्यकाल एक योजना) - Khusilimbu.com

ONE NRNA ONE PROJECT 2015-17 (एक कार्यकाल एक योजना)

पाँचथर जिल्लाको थर्पु गा. वि. स. वडा नं. ७ मा अवस्थित श्री सिरिसे नि. मा. वि. स्थापना भएको आज चार दशक बितिसक्दा पनि माध्यमिक बिद्यालय हुन नसक्दा थर्पू गाविसका अधिकाँश विद्यार्थीहरुलाइ दुई घण्टासम्म हिंडेर थर्पू मा. वि. धाउन परेको छ । यसले गर्दा उनीहरुलाई सास्ती परेको मात्र नभई कतिपय नानीहरु माध्यमिक शिक्षा लिनबाट बञ्चित हुन परेको छ । अझ गत बैशाखको महाभूकम्पले प्रमुख भवन क्षतिग्रस्त बन्न पुगेपछि हाल आधा जस्तो बिद्यार्थीहरुलाई खुला चौरमा राखेर पठनपाठन गरिंदै आएको छ । यही तथ्यलाई हृदयंगम गरी उक्त बिद्यालयका अबिभावकहरुको अनुरोधमा हाल विश्वभर छरिएर रहेका उक्त बिद्यालयका पुर्व विद्यार्थीहरु अनि गाउँवासीहरुको बिशेष सक्रियतामा भवन पुनर्निमाण तथा माध्यमिक विद्यालय संचालन अभियान थालिएको छ । यस अभियानको निर्देशन अहिलेसम्म सोही बिद्यालयका एक पुर्व बिद्यार्थी एबं गैर आवासीय नेपाली संघ बेलायत (NRN UK) का प्रवक्ता खुशी लिम्बुले गरिरहेका छन् भने अभियान समुहका अधिकांश सदस्यहरु पनि सोही बिद्यालयका पुर्व बिद्यार्थीहरु रहेका छन् ।

पाँचथर जिल्ला र छिमेकी जिल्लाका शुभचिन्तकहरु लगायत विश्वका बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरुको दयालु आर्थिक सहयोगबाट करिब २० लाख रुपैयाँ रकम संकलन गरिने अनुमान गरिएको छ भने गैर आवासीय नेपाली संघ यूकेले आफ्नो “एक कार्यकाल एक योजना शीर्षक अन्तर्गत उत्ति नै परिमाणमा उपलब्ध गराउने आशा गरिएको छ । यसरी कम्तिमा ४० लाख रुपैयाँ संकलन गरी एक पक्कि भवन निर्माण गर्न सकिए भुकम्पले क्षतिग्रस्त भवनको प्रतिस्थापना हुने मात्र नभई माध्यमिक तहका कक्षा कोठाहरु पनि निस्कने छन् । यस अवस्थामा जिल्ला शिक्षा कार्यालय पाँचथरले माध्यमिक बिद्यालय स्थापनाका निम्ति नेपाल सरकारको तर्फबाट पनि आवश्यक सहयोग रकम बिनियोजन गर्ने आशा गरिएको छ । त्यही अनुरुप यस् योजनालाई अघि बढाउन बेलायत, हंगकंग र दक्षिण कोरियामा कोष संकलन समितिहरुको निर्माण गरिएको छ भने नेपालमा भवन निर्माण समिति रहेको छ ।

ONE NRNA ONE PROJECT 2015-17 (एक कार्यकाल एक योजना) - Khusilimbu.com